मुलुकमा संघीय शासन व्यवस्था लागू भए केन्द्रकृत अधिकार गाउँमा आउने गाउँमा सञ्चालन हुने स्थानीय सरकारले यहाँका जनताको दैनिकीमा परिवर्तनसँगै स्थानीय स्तरमा रोजगारी र ग्रामीण वस्तिको विकास गर्ने लगायतका नागरिक लोभ्याउने नारा लगाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधि स्थानीय सरकार सञ्चालनमा पुगे ।
पाँच वर्ष अघि (अर्थात) २०७४ सालमा सम्पन्न स्थानी तहको निर्वाचनमा यहाँको भैरवी गाउँपालिकामा नेकपा एमालेले गाउँपालिका प्रमुख÷उपप्रमुखमा विजयी हात पा¥यो । नेपाली काँग्रेस र एमाले मुख्य प्रतिस्पर्धी रहेको भैरवीमा कार्यपालिका बहुमत भने काँग्रेसको रह्यो ।
स्थानीय सरकार सञ्चालनका लागि कार्यपालिकामा एमालेको बहुमत नहुँदा नेपाली काँग्रेसबाट सरकार सञ्चालनमा पुगेका प्रतिनिधिहरूले विभिन्न बहानामा राजनीतिक बखेडा झिक्दा आफूहरूले निर्वाचनताका जनता सामु गरिएका वाचा अनुसार काम गर्न नपाएको पूर्व अध्यक्ष प्रेमबहादुर बुढाले बताउने गरेका छन् ।
७ वडा रहेको भैरवी गाउँपालिकामा २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनताका गाउँपालिका प्रमुख÷उपप्रमुख सहित भैरवीमा एमालेले ४ वटा वडा जितेको थियो । काँग्रेसले भने ३ वटा वडा जित्दै गाउँ कार्यपालिकामा बहुमतमा रह्यो ।
गाउँमा स्थानीय सरकार सञ्चालनपछि यहाँको विकाससँगै ग्रामीण वस्तिको विकास हुने आशा बोकेका नागरिक भने गाउँपालिकामा हुने राजनीतिक मतभेदका कारण सेवा पाउनबाट वञ्चित हुनु परेको गुनासो गर्दै आएका छन् ।
‘पहिलेको पाँच वर्ष एमालेले प्रमुख÷उपप्रमुख जित्यो, बहुमत नहुँदा काम गर्न सकिएन भन्दै टार्ने काम भयो, अहिले काँग्रेसले प्रमुख÷उपप्रमुख जितेको छ, कार्यपालिकामा एमालेको बहुमत छ, स्थानीय सरकारका प्रतिनिधिहरूले जनताका आवश्यकता भन्दा आफु अनुकूल काम गर्न खोज्दा विगतदेखि भैरवी राजनीतिक ‘रडाको’ को मारमा फसेको छ’, एक स्थानीयले भने ।
२०७९ वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा भैरवी गाउँपालिकाको प्रमुख÷उपप्रमुख सहित २ वटा वडा जित्दै काँग्रेस गाउँ कार्यपालिकामा अल्पमतमा रहेको छ । एमालेले अन्य ५ वटा वडा जित्दै बहुमतमा छ । भैरवी गाउँ कार्यपालिकामा एमालेका ११ जना र काँग्रेसका ४ जना रहेका छन् ।
विगतका पाँच वर्ष बहुमत र अल्पमतको खेलमा बढिदिन बिताएको भैरवीले यस पटक पनि राजनितिक खिचातानीका कारण बजेट पास गर्न ढिलाई गरेको देखिन्छ ।
यता, गाउँपालिकाका उप–प्रमुख देवी भण्डारीले अध्यक्षका श्रीमान् विरामी पर्दा उहाँ उपचार गराउन गएकाले गाउँपालिकाको बजेट पारितमा ढिलाई भएको बताइन् । ‘श्रीमानको उपचारमा अध्यक्ष ज्यू बाहिर जाँदा बजेट पारितमा ढिलाई भएको हो, यहीँ साउन १७÷१८ गतेसम्म गाउँ सभाबाट बजेट पास गछाँै’, उपाध्यक्ष भण्डारीले भनिन् ।
उपाध्यक्ष भण्डारीले गाउँपालिकामा हुँदै आएको राजनितिक तिक्तता लुकाउन खोजे पनि ५ का वडा अध्यक्ष रत्नबहादुर थापाले भने हालसम्म गाउँपालिका विषयगत समिति समेत बन्न नसकेको बताए । ‘अहिलेसम्म विषयगत समिति बनेका छैनन्, नीति तथा कार्यक्रममा हल्का छलफल मात्र भएको छ,’ अध्यक्ष थापाले भने ।
उनले गाउँपालिकाबाट बजेट पास नहुँदा विकासे काममा समस्या हुँदै गएको बताए । ‘बर्खाको समयमा भत्केका सडकको अवस्था नाजुक छ, बजेट पारित नहुँदा सडक मर्मत भएका छैनन्, सडक भत्केका कारण एम्बुलेन्स नचल्ने गरेकाले बिरामी नागरिकलाई स्वास्थ्य सेवा लिन समेत सास्ती भोग्नु परेको छ’, उनले भने ।










